EN
मेनु
Flash News

तीन दशकको बैंकिङ अनुभवसहित प्रताप सुवेदीले सम्हाले नेप्सेको कमान्ड

काठमाडौं।नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुवेदीलाई नियुक्तिपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ गराएका थिए । त्यसपछि उनले आज नेप्सेको कार्यालय पुगेर आफ्नो कार्यभार सम्हालेका हुन् ।

बैंक तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव हासिल गरेका सुवेदी यसअघि कृषि विकास बैंकमा कार्यरत थिए । उनले बैंकको मानव संसाधन तथा सेवा विभागका उपमहाप्रबन्धक र प्रमुख सञ्चालन अधिकृत (सीओओ) लगायतका जिम्मेवारी सम्हालिसकेका छन् ।

वित्तीय क्षेत्रको लामो अनुभव भएका सुवेदीको नेतृत्वमा नेप्सेको आगामी कार्यदिशा र पुँजीबजार सुधारका कामले कस्तो गति लिन्छ भन्ने चासो बढेको छ।