EN
मेनु
प्रदेश २

दसैँ बिदामा पनि सेवा दिने चितवन मेडिकल कलेजको तयारी

चितवन।चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षमार्फत सबै प्रकारका सेवा उपलब्ध गराउने जनाएको छ।

अस्पतालका निर्देशक प्रा. डा. गोपेन्द्र देवका अनुसार बडादसैँको अष्टमीदेखि एकादशीसम्म बिरामीलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा राख्न लागिएको हो। उक्त अवधिमा रेडियोलोजी, प्रयोगशाला तथा अन्तरङ्ग सेवा पनि नियमित सञ्चालन हुनेछन्।

डा. देवले दसैँका समयमा पनि अस्पतालले आफ्नो सेवा निरन्तरता दिने बताउँदै स्वास्थ्य समस्या देखिएमा अस्पताल आउन बिरामीलाई आग्रह गरे। चाडपर्वका समयमा हुन सक्ने दुर्घटना, हृदयाघात, खाना अपच तथा झाडापखालालगायतका स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै विशेषज्ञ चिकित्सकसहितको उपचार व्यवस्था मिलाइएको उनले जानकारी दिए।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले दसैँ बिदाका समयमा अस्पताल बन्द हुने आशङ्काले बिरामी अन्योलमा पर्न सक्ने भएकाले सेवा सञ्चालनबारे जानकारी गराइएको बताए। अन्य कतिपय अस्पतालमा नियमित सेवा बन्द वा सीमित हुने अवस्थामा बिरामीलाई उपचारमा असहज नहोस् भन्ने उद्देश्यले आकस्मिक कक्षलाई थप व्यवस्थित बनाइएको उनको भनाइ छ।

देवकोटाका अनुसार आकस्मिक कक्षमा थप डेस्कको व्यवस्था गरी ओपिडी सेवा आवश्यक पर्ने बिरामीलाई समेत सेवा दिने तयारी गरिएको छ। यसले चाडपर्वका समयमा उपचारका लागि अस्पताल पुग्ने बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ।

पुराना रोग भएका बिरामीलाई नियमित परामर्श आवश्यक पर्न सक्ने र आकस्मिक स्वास्थ्य समस्या जुनसुकै बेला उत्पन्न हुन सक्ने भएकाले अस्पतालले दसैँ बिदामा पनि उपचार सेवा सञ्चालनलाई प्राथमिकता दिएको जनाएको छ।

अस्पतालले चाडपर्वका समयमा बिरामीलाई उपचार सेवाबाट वञ्चित हुन नदिन विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरेको हो।