मेनु
Flash News

चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु

काठमाडौंनिर्देशक सौरभ चौधरीको महत्वाकांक्षी चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ । मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो । एपिक एक्सन ड्रामाका रूपमा निर्माण हुने चलचित्रको छायांकनका लागि ७० दिनको तालिका तय गरिएको छ । चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ ।

चलचित्रको कलाकार लाइनअप पनि आकर्षक छ । सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठ प्रमुख भूमिकामा देखिँदैछन् ।

विशेषगरी सौगात मल्लले चलचित्रमा निकै चुनौतीपूर्ण भूमिका निर्वाह गर्नेछन् । उनले २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको जीवन यात्रा पर्दामा प्रस्तुत गर्ने निर्देशकले बताएका छन् ।एउटै पात्रको लामो उमेर अन्तरलाई अभिनयमार्फत देखाउनु सौगातका लागि समेत महत्वपूर्ण चुनौती बन्नेछ ।

‘द राइज अफ साम्राज्य’को कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन् । प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् । मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशकमा छन् ।