आज कोसी, मधेस र बागमती प्रदेशमा वर्षाको सम्भावना भोलिदेखि पानी पार्ने क्रम अझ बढ्ने
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।
यतिबेला (मंगलबार बिहान) कोसी, मधेस र बाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।
दिउँसो कोसी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।












