उच्च अदालत बार एशोसिएसन पाटनको साधारणसभा सम्पन्न, नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो पदभार – Sagarmathapana:: Online News Portal

उच्च अदालत बार एशोसिएसन पाटनको साधारणसभा सम्पन्न, नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो पदभार

   २०८३ भाद्र २९ गते  

काठमाडौं।उच्च अदालत बार एशोसिएसन पाटनको वार्षिक साधारणसभा तथा नवनिर्वाचित कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा शनिबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा महान्यायाधिवक्ता डा. नारायणदत्त कडेल, नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा.डा. विजय मिश्र, विभिन्न बार इकाइका अध्यक्ष तथा पदाधिकारी, वरिष्ठ अधिवक्ता, अधिवक्ता र कानुन क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा उच्च अदालत बार एशोसिएसन पाटनको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पदभार हस्तान्तरण गरिएको थियो। हालै सम्पन्न निर्वाचनबाट सेवन्तराज निरौला अध्यक्षतामा निर्वाचित टोलीले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ।

न्याय सम्पादनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण : प्रधानन्यायाधीश शर्मा
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादनलाई प्रभावकारी बनाउन कानुन व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।न्यायपालिकाले नागरिकलाई प्रभावकारी र समयमै न्याय उपलब्ध गराउने उद्देश्य पूरा गर्न न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायीबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

उहाँले बार र बेञ्चबीच कुनै विषयमा फरक बुझाइ भए आपसी संवाद र छलफलमार्फत समाधान खोजिनुपर्ने धारणा राख्नुभयो। न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन कानुन व्यवसायीको बहस मुद्दाको निर्णयमा सहयोग पुग्ने गरी स्पष्ट, विषयकेन्द्रित र निर्णयउन्मुख हुनुपर्नेमा उहाँले जोड दिनुभयो।प्रधानन्यायाधीश शर्माले लामो सैद्धान्तिक बहसभन्दा मुद्दाको निर्णयमा पुग्न सहयोग गर्ने गरी स्पष्ट र बुँदागत बहस आवश्यक रहेको बताउनुभयो। बहसलाई एकतर्फी प्रस्तुति नभई बार र बेञ्चबीचको अन्तरक्रियात्मक संवादका रूपमा विकास गर्नुपर्ने उहाँको धारणा थियो।

प्रविधिमैत्री न्याय प्रणालीमा जोड
प्रधानन्यायाधीश शर्माले न्यायपालिकामा प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिइएको जानकारी गराउनुभयो। अदालतबाट जारी हुने आदेश तथा निर्णय सेवाग्राहीले सहज रूपमा प्राप्त गर्न सक्ने गरी अदालतका वेबसाइट तथा विद्युतीय प्रणालीलाई थप प्रभावकारी बनाउने काम अघि बढिरहेको उहाँले बताउनुभयो।

न्यायपालिकाप्रतिको जनविश्वास अभिवृद्धिका लागि पारदर्शिता, जवाफदेहिता र सेवाग्राहीमैत्री न्याय प्रणाली आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। न्यायमा सहज पहुँच सुनिश्चित गर्नु न्यायपालिकाको प्रमुख दायित्व भएको भन्दै त्यसका लागि सबै सरोकारवाला पक्षको सकारात्मक सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि बार र बेञ्चबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै न्याय सम्पादनलाई छिटो, सरल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

वार्षिक साधारणसभामा बारका संस्थागत गतिविधि, पेशागत विषय तथा न्याय सम्पादनसँग सम्बन्धित विविध विषयमा समेत छलफल गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै