काठमाडौँलाई ‘आरोग्य सहर’ बनाउने महानगरको योजना, टोल–टोलमा निःशुल्क योग र ध्यान केन्द्र सञ्चालन गरिने
काठमाडौँ -काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्दै सहरलाई ‘आरोग्य सहर’का रूपमा विकास गर्ने उद्देश्यले टोल–टोलमा निःशुल्क योग तथा ध्यान केन्द्र सञ्चालन गर्ने भएको छ।
महानगरपालिकाले ‘महानगर आरोग्य जीवन कार्यक्रम’ अन्तर्गत आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यानमार्फत शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य प्रवर्धन गर्ने कार्यक्रम अघि बढाउन लागेको हो।
![]()
![]()

कार्यक्रम सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी शर्माबीच सेवामा आधारित सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।महानगरपालिकाको गएको असारमा सम्पन्न नगर सभाको १९औँ अधिवेशनबाट स्वीकृत नीतिअनुसार आरोग्य जीवनशैली प्रवर्धन गर्ने कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो। उक्त नीतिमा आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यानका माध्यमबाट स्वस्थ जीवनशैलीको विकास गर्ने विषय समेटिएको छ।

![]()

समझदारीको सैद्धान्तिक पक्षमा व्यक्ति, परिवार र मानव समाजलाई आरोग्य जीवनशैलीमा अभ्यस्त गराउने तथा पर्यावरण संरक्षण, सुशासन र समृद्धिको मार्गमा अघि बढाउने लक्ष्य राखिएको छ।
महानगरपालिकाले अघि सारेको कार्यक्रमको अवधारणा ‘स्वस्थ नागरिक, आरोग्य नगर’ भन्ने आदर्शमा आधारित रहेको जनाइएको छ।
कार्यवाहक प्रमुख डंगोलले आरोग्यता निर्माणको नेतृत्व महानगरपालिकाले लिए पनि यो कार्यक्रम हरेक नागरिकको सक्रिय सहभागिताबाट मात्र सफल हुने बताएकी छन्।
“आरोग्यता निर्माणको नेतृत्व महानगरपालिकाले लिएको हो तर, यो हरेक नागरिक सक्रिय सहभागी हुनुपर्ने कार्यक्रम हो,” कार्यवाहक प्रमुख डंगोलले भनिन्।महानगरपालिकाका अनुसार योग र ध्यानजस्ता अभ्यासलाई नागरिकको दैनिक जीवनसँग जोड्दै स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिनेछ।













