गोर्खाज फाइनान्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाखभन्दा बढी रकम
काठमाडौं।गोर्खाज फाइनान्स लिमिटेडले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख १८ हजार ४२६ रुपैयाँ २७ पैसा आर्थिक सहयोग गरेको छ।
फाइनान्सले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। सहयोग रकममा संस्थामा कार्यरत कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकमसमेत योगदान गरेका छन्।

![]()
सहयोग रकमको चेक गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ्गले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको फाइनान्सले जनाएको छ।
![]()
![]()
चेक हस्तान्तरणका क्रममा प्रमुख कार्यकारी अधिकृत इवाहाङ्गले विपद्को समयमा वित्तीय संस्थाको भूमिका वित्तीय कारोबारमा मात्र सीमित हुन नहुने बताए।
“यस्तो विपद्को समयमा वित्तीय संस्था केवल वित्तीय कारोबारमा सीमित रहनु हुँदैन। समाज र समुदायप्रति हाम्रो पनि जिम्मेवारी हुन्छ। यो विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिनु हाम्रो मानवीय तथा संस्थागत दायित्व हो,” उनले भने।

फाइनान्सले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा संस्थागत तथा मानवीय जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
साथै, बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।













