बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीको हवाई ढुवानी शुल्क एक महिनासम्म छुट
काठमाडौं।नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशबाट पठाइने राहत सामग्रीको हवाई ढुवानी शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको छ।
![]()
![]()
निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्तर्राष्ट्रिय स्टेसनबाट नेपाल ल्याइने राहत सामग्रीमा यस्तो सहुलियत दिने जनाएको हो।

![]()
निगमका अनुसार सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा बाढीपीडितका लागि पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य आवश्यक राहत सामग्रीको ढुवानीमा शुल्क नलिइनेछ।
विपद्का बेला विदेशबाट प्राप्त हुने मानवीय सहयोगलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले गरिएको यो निर्णयले विभिन्न मुलुक तथा संघसंस्थाबाट नेपाल पठाइने राहत सामग्री प्रभावित समुदायसम्म छिटो पुर्याउन सहयोग पुग्ने निगमले विश्वास व्यक्त गरेको छ।














