झापाली समाज युएईद्वारा बाढीपीडितका लागि आर्थिक सहयोग
SAGARMATHA PANA
२०८३ भाद्र २३ गते
युएई।झापाली समाज युएईले रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ। युएईमा कार्यरत झापालीहरूले सञ्चालन गरेको सहयोग अभियानबाट संकलित १ लाख ४३ हजार ५ सय २२ रुपैयाँ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको झापाली समाज युएईका अध्यक्ष लोकेश कोइरालाले जानकारी दिएका छन्।
![]()

झापा जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाका रूपमा दर्ता रहेको झापाली समाज युएईको खाताबाट उक्त रकम भदौ २२ गते सोमबार प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको नेपाल सम्पर्क समितिका अध्यक्ष अशोक चापागाईंले बताए।
झापाली समाज युएईका कोषाध्यक्ष प्रेम अधिकारीको संयोजकत्वमा सञ्चालित सहयोग अभियानमा अबुधाबीबाट सूर्यबहादुर खवास, दुबईबाट ईश्वरनारायण तिवारी, सारजाहबाट विष्णु प्रसाईं, रास अल खैमाह (राक) बाट केशव कार्की, अल ऐनबाट प्रशान्त ताजपुरिया तथा नेपालबाट अशोक चापागाईंले समन्वय गरेका थिए। उनीहरूको समन्वयमा उक्त रकम संकलन गरिएको हो।

वैदेशिक रोजगारीका सिलसिलामा युएई पुगेका झापालीहरूले सन् २०१५ मा स्थापना गरेको झापाली समाज युएई ले युएईमा कार्यरत तथा समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहयोगमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ। यसका अतिरिक्त समाजले झापाका सबै स्थानीय तहबाट एक–एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक ५ हजार ५ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ।
समाजले अक्षयकोष स्थापना गरी सो कोषबाट प्राप्त ब्याज रकममार्फत हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ। साथै, प्रत्येक जाडो मौसममा विभिन्न सरकारी विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडासमेत वितरण गर्दै आएको छ।
युएईको नेपाली सामाजिक परिवेशमा झापाली समाज युएई सक्रिय सामाजिक संस्था तथा मानवीय सेवामा निरन्तर योगदान गर्दै आएको संस्थाका रूपमा परिचित छ। संस्थाले आर्थिक तथा सामाजिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै नेपाली समुदाय र मातृभूमिसँग जोडिएका सामाजिक कार्यमा योगदान पुर्याउँदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै












