रसुवामा भारत र चीनलाई मात्रै खोज तथा उद्धारको अनुमति, ठूला हेलिकप्टर नल्याइने
काठमाडौं।रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि नेपाल सरकारले खोज तथा उद्धारका लागि भारत र चीनलाई मात्रै अनुमति दिएको छ। अमेरिका, बेलायतलगायत विभिन्न मुलुकले उद्धार टोली पठाउने इच्छा व्यक्त गरे पनि सरकारले तत्कालका लागि दुई छिमेकी राष्ट्रलाई मात्रै उद्धार कार्यमा सहभागी गराउने निर्णय गरेको हो।

![]()
भूराजनीतिक संवेदनशीलता तथा रसुवाको भौगोलिक जटिलतालाई ध्यानमा राख्दै उद्धार कार्यका लागि आवश्यक समन्वय र व्यवस्थापनलाई प्राथमिकता दिइएको जनाइएको छ। विशेषगरी साँघुरा गल्छेडा तथा कठिन भूगोलका कारण ठूला हेलिकप्टर सञ्चालनमा प्राविधिक चुनौती देखिएको अधिकारीहरूको भनाइ छ।



यसअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ८० जना दक्ष उद्धारकर्मी र एमआई–१७ हेलिकप्टरसहितको टोली नेपाल पठाउने प्रस्ताव नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसमक्ष राखेका थिए।
तर परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानसेनापति सिग्देल र भारतीय पक्षबीच भएको छलफलपछि रसुवाको भौगोलिक अवस्थाका कारण एमआई–१७ जस्ता ठूला हेलिकप्टरबाट उद्धार गर्न कठिन हुने निष्कर्ष निकालिएको हो।


प्राविधिक कठिनाइलाई ध्यानमा राख्दै भारतीय पक्षले पनि उद्धार टोलीको आकार घटाएर सानो हेलिकप्टरसहित सहयोग गर्ने सहमति जनाएको छ। अब रसुवामा उद्धार तथा खोजी कार्यका लागि सानो हेलिकप्टर र दक्ष जनशक्ति परिचालन गरिने तयारी छ।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी बाढी तथा पहिरोका कारण सुरुङ र भग्नावशेषमा फसेकाहरूको जीवितै उद्धारका लागि अन्तर्राष्ट्रिय विशेषज्ञ टोली परिचालन गर्न आग्रह गरेका छन्।
आङदेम्बेले विपद्को जटिलता र उद्धारमा देखिएको प्राविधिक चुनौतीलाई ध्यानमा राख्दै उपलब्ध सबै अन्तर्राष्ट्रिय स्रोत, प्रविधि र विशेषज्ञ जनशक्तिको अधिकतम उपयोग गर्न सरकारसँग आग्रह गरेका हुन्।
भोटेकोसी बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ।












