नेफ्स्कून स्थापना दिवसमा उत्कृष्ट व्यक्ति तथा सहकारी संस्था सम्मानित – Sagarmathapana:: Online News Portal

नेफ्स्कून स्थापना दिवसमा उत्कृष्ट व्यक्ति तथा सहकारी संस्था सम्मानित

   २०८३ श्रावण ३१ गते  

काठमाडौं।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बचत तथा ऋण सहकारी अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएका विभिन्न व्यक्ति तथा संस्थालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

नेफ्स्कूनको ३९औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बचत तथा ऋण सहकारी अभियानमा योगदान पुर्‍याउने व्यक्ति, जिल्ला बचत तथा ऋण सहकारी संघ, प्रदेशस्तरीय संघ तथा उत्कृष्ट सहकारी संस्थालाई विभिन्न विधामा सम्मान गरिएको हो।

नेफ्स्कूनले जीवनपर्यन्त योगदान, संस्थापक अध्यक्ष, नेफ्स्कून/एएफआई क्रेडिट युनियन पुरस्कार, विद्वता सम्मान तथा अग्रज व्यक्तित्व सम्मानलगायत विधामा पुरस्कार प्रदान गरेको जनाएको छ। यस्तै, उत्कृष्ट संघ, उत्कृष्ट संस्था, उत्कृष्ट व्यवस्थापक, उत्कृष्ट कर्मचारी तथा पत्रकारितातर्फ समेत सम्मान प्रदान गरिएको छ।

प्रदेशस्तरीय उत्कृष्ट संस्थातर्फ गोरखा साकोस, पान्डपोखरी साकोस, सुरक्षित साकोस, पेरिसी साकोस, किसान कल्याण साकोस, शुभ साकोस र कञ्चन कल्याणकारी साकोस लगायतलाई सम्मान गरिएको छ। विभिन्न प्रदेशका उत्कृष्ट व्यवस्थापकलाई पनि पुरस्कार प्रदान गरिएको छ।

 

यसैगरी, उत्कृष्ट सेवा सदस्यलाई प्रशिक्षणतर्फ समेत सम्मान गरिएको छ। WOCCU Digital Growth Award–2026 Honor अन्तर्गत चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको नेफ्स्कूनले जनाएको छ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित नेफ्स्कून परिवारले सम्मानित व्यक्ति तथा संस्थालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

सहकारी अभियानलाई थप व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको नेफ्स्कूनले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै