गायक राजु लामाले चुमे किलिमन्जारो:सेभेन समिटको लक्ष्यनजिक – Sagarmathapana:: Online News Portal

गायक राजु लामाले चुमे किलिमन्जारो:सेभेन समिटको लक्ष्यनजिक

   २०८३ श्रावण २८ गते  

काठमाडौं।लोकप्रिय नेपाली गायक तथा गीतकार राजु लामाले अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमन्जारो सफलतापूर्वक आरोहण गरेका छन्। किलिमन्जारो आरोहणसँगै उनी विश्वका सात महादेशका सर्वोच्च शिखर आरोहण गर्ने ‘सेभेन समिट’ अभियानको लक्ष्यनजिक पुगेका छन्।

आईएफएमजीए (IFMGA) माउन्टेन गाइड तथा इन्स्ट्रक्टर अबिरल राईका अनुसार लामाले ५ हजार ८९५ मिटर अग्लो किलिमन्जारोको शिखर अगस्ट ११ गते बिहान करिब ९ बजे स्थानीय समयअनुसार सफलतापूर्वक चुमेका हुन्। आरोहणमा राई पनि लामासँगै सहभागी थिए।

सांगीतिक क्षेत्रमा लोकप्रिय पहिचान बनाएका लामा पछिल्लो समय पर्वतारोहणमा समेत सक्रिय छन्। उनले यसअघि सन् २०२२ मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका थिए।

किलिमन्जारो आरोहणसँगै लामाले सेभेन समिटअन्तर्गत अहिलेसम्म चारवटा शिखर आरोहण गरिसकेका छन्। उनले सगरमाथासँगै कार्स्टेन्स पिरामिड, माउन्ट एल्ब्रुस र किलिमन्जारो सफलतापूर्वक चुमिसकेका छन्।


अब सेभेन समिट पूरा गर्न लामाले उत्तर अमेरिकाको डेनाली, दक्षिण अमेरिकाको अकोन्कागुवा र अन्टार्कटिकाको माउन्ट भिन्सन आरोहण गर्न बाँकी छ।

संगीतसँगै साहसिक यात्रामा पनि आफ्नो पहिचान बनाउँदै आएका लामाको किलिमन्जारो आरोहणलाई सेभेन समिट अभियानतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

Photo Credit: IFMGA Mountain Guide and Instructor Abiral Rai

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै