भदौ २३ गते फेरी जेनजी आन्दोलन केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह – Sagarmathapana:: Online News Portal

भदौ २३ गते फेरी जेनजी आन्दोलन केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

   २०८३ श्रावण २६ गते  

काठमाडौं।जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः सडक आन्दोलनको घोषणा गरेको छ ।

संगठनका अध्यक्ष विकेश साहले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारलाई ‘असंवैधानिक, दमनकारी र फेक’ भन्दै आउँदो भदौ २३ गते ‘फेक शासन विरुद्ध असल शासन’ नारासहित देशव्यापी प्रदर्शन गर्ने जनाइएको छ।

जेनजी आन्दोलनको मुख्य उद्देश्य ‘सरकार फेर्ने’ मात्र नभई ‘समग्र सिस्टममा आमूल परिवर्तन’ गर्नू थियो। तर केही ‘छद्मभेषी र स्वार्थी समूह’ले आन्दोलनलाई हाइज्याक गरेर ‘केही पात्र र सरकार फेर्ने खेल’ मा मात्र सीमित पारेको गम्भिर आरोप अध्यक्ष साहले लगाएका छन् ।

‘आन्दोलनमा रगत बगाउने सहिद र घाइतेहरू सहाराविहीन बनेका छन् । बदलाव चाहने नेपाली जनता निराश भएका छन्,’ कमन जेनजी नेपालका अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।


कमन जेनजीले वर्तमान बालेन सरकारको चरित्र नै दमनकारी रहेको आरोप लगाएका छन् । सुकुम्बासीको उठिबास, निर्दोष युवामाथि गोली, संसद र संवैधानिक संस्थाको मानमर्दन, नागरिकका संवैधानिक अधिकार खोस्ने काममा लिप्त रहेको आरोप लगाइएको छ ।

यस्तै ४ महिना बित्दा पनि किसानलाई मल अभाव, मूल्यवृद्धि, कर आतङ्क र ग्यासको लाइन समाधान नगरेको तथा जनताको समस्या छाडेर ‘काण्डै काण्डको शृङ्खला’ रचना गर्नमा सरकार लागेको उनले जनाएका छन् । विगतको शक्तिशाली सरकार कसरी २४ घण्टामै चुर्लुम्म ढलेको बिषय स्मरण गर्दै अहिलेको रास्वपा सरकारले केवल ४८ प्रतिशत मतदाताको समर्थन मात्र पाएको र जनताविरोधी काम नगरी जेनजीको माग सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ ।

कमन जेनजीले आफूहरुको आन्दोलन ‘रहर नभई बाध्यता’ भएको भन्दै सम्पूर्ण बदलाव चाहने युवा, राजनीतिक दल, नागरिक समाज र राष्ट्रवादी शक्तिलाई एकजुट हुन आह्वान समेत गरेको छ । राज्यसत्तामा जबसम्म छद्मभेषीहरू रहन्छ, तबसम्म देशले सही बाटो लिन नसक्ने जनाउँदै उनले छद्मभेषी प्रवृत्तिलाई परास्त गर्न सम्पूर्ण न्यायप्रेमीहरु एकजुट हुन आह्वान समेत उनले गरेका छन् ।

गत भदौमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि सुशीला कार्कीको अन्तरिम सरकारले २०८२ फागुन २१ मा चुनाव गराएको थियो । चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकल बहुमत ल्याएर बालेन शाह नेतृत्वमा सरकार गठन गरेको छ । तर शाह नेतृत्वको सरकारले जेनजी आन्दोनलको माग पुरा गर्न असफल भएको आरोप कमन जेनजीले लगाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै