उच्च शिक्षा सुधारमा पारदर्शी भर्ना र प्रविधिमैत्री व्यवस्थापनमा जोड – Sagarmathapana:: Online News Portal

उच्च शिक्षा सुधारमा पारदर्शी भर्ना र प्रविधिमैत्री व्यवस्थापनमा जोड

   २०८३ श्रावण २४ गते  

काठमाडौं।उच्च शिक्षाको गुणस्तर सुधारका लागि विश्वविद्यालयमा शिक्षक भर्ना, विकास तथा पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी र परिणाममुखी बनाउनुपर्ने निष्कर्षसहित दुईदिने नीति कार्यशाला सम्पन्न भएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यशालामा विश्वविद्यालयको नीति तथा कानुन समयानुकूल सुधार गर्दै प्रमाण र तथ्यमा आधारित निर्णय प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको छ।


कार्यशालामा शिक्षणसँगै अनुसन्धान, नवप्रवर्तन, अन्तरविषयक सहकार्य र सामाजिक उत्तरदायित्वलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको सहभागीहरूले बताएका छन्। विश्वविद्यालयको सञ्चालन तथा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा पनि जोड दिइएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया पारदर्शी, निष्पक्ष र समान मापदण्डमा आधारित हुनुपर्ने बताउनुभयो। उहाँले विश्वविद्यालयबीच असल अभ्यास आदानप्रदान र विद्यार्थीमैत्री वातावरण निर्माण आवश्यक रहेको उल्लेख गर्नुभयो।


कार्यशालामा राष्ट्रिय योजना आयोग, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग तथा विभिन्न विश्वविद्यालयका पदाधिकारी, शिक्षाविद्, अनुसन्धानकर्ता र नीति विज्ञहरूको सहभागिता थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै