रिलिजअघि नै ‘बेहुली’को अन्तर्राष्ट्रिय बजारमा व्यापार, चार प्रमुख क्षेत्रका प्रदर्शन अधिकार बिक्री – Sagarmathapana:: Online News Portal

रिलिजअघि नै ‘बेहुली’को अन्तर्राष्ट्रिय बजारमा व्यापार, चार प्रमुख क्षेत्रका प्रदर्शन अधिकार बिक्री

   २०८३ श्रावण १९ गते  

काठमाडौं।आगामी भदौ २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउने नेपाली फिल्म ‘बेहुली’ ले स्वदेशमा रिलिज हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय व्यापार गर्न सफल भएको छ। निर्माण टिमका अनुसार फिल्मका प्रमुख विदेशी बजारका प्रदर्शन अधिकार बिक्री भइसकेका छन्।

सार्वजनिक गरिएको जानकारीअनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायतका लागि वितरण अधिकार विभिन्न कम्पनीले खरिद गरेका छन्। अस्ट्रेलियामा आशिष एन्ड नमस्ते इन्टरटेन्मेन्ट, उत्तर अमेरिकामा चलचित्र इन्टरटेन्मेन्ट मुभी डिस्ट्रिब्युसन, मध्यपूर्वमा साथीभाइ इन्टरटेन्मेन्ट र बेलायतमा ९७७ इभेन्ट्स ले फिल्म प्रदर्शन गर्नेछन्।


नेपालसँगै अस्ट्रेलिया, अमेरिका, क्यानडा, दुबई, कतार र बहराइनमा पनि फिल्म भदौ २६ गते नै रिलिज हुने तय भएको छ। बेलायतमा भने फिल्म असोज १६ गतेदेखि प्रदर्शनमा आउनेछ।

निर्माण पक्षले अहिले फिल्मको प्रचारप्रसारलाई तीव्र बनाएको छ। हालसम्म सार्वजनिक गरिएको फर्स्ट लुक पोस्टर र ‘दिलमा ठाउँ छ’ बोलको पहिलो गीतले सकारात्मक प्रतिक्रिया पाएको जनाइएको छ। निर्माण टिमका अनुसार उक्त गीतले युट्युबमा करिब ३० लाख भ्युज र टिकटकमा ६ लाखभन्दा बढी भिडियो प्राप्त गरिसकेको छ। फिल्मका ट्रेलर तथा अन्य गीतहरू भने सार्वजनिक हुन बाँकी छन्।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको फिल्ममा पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको फिल्ममा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता, दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै