बडीमालिकाबाट सुरु हुँदै ‘ए मेरो हजुर ५’को छायांकन, अनमोल–सुहानाको तेस्रो सहकार्य
काठमाडौं।अभिनेत्री तथा निर्देशक झरना थापाले आफ्नो नयाँ फिल्म ‘ए मेरो हजुर ५’ को छायांकन आगामी साउन २९ गते देखि सुरु हुने घोषणा गरेकी छन्। फिल्मको शुभमुहूर्त तथा पहिलो छायांकन बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरबाट गरिने भएको हो।
![]()
![]()
झरनाले सामाजिक सञ्जाल फेसबुकमार्फत बडीमालिकाको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक महत्त्वलाई उजागर गर्दै त्यहीँबाट फिल्मको यात्रा सुरु गर्न पाउँदा गर्व लागेको उल्लेख गरेकी छन्। उनका अनुसार नेपाली प्रकृति, संस्कृति र भावनालाई विश्वसामु चिनाउने उद्देश्यले फिल्म निर्माण गर्न लागिएको हो।


फिल्मको छायांकन चर्चित छायाकार सञ्जय लामाले गर्नेछन् भने निर्देशन झरना थापाले नै गर्नेछिन्। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुनिलकुमार थापा हुन्।

![]()
फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा देखिनेछन्। यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ मा पनि सँगै अभिनय गरेका थिए। ‘ए मेरो हजुर ५’ उनीहरूको तेस्रो सहकार्य हुनेछ। अन्य कलाकारको नाम भने निर्माण पक्षले हालसम्म सार्वजनिक गरेको छैन।


उल्लेखनीय छ, ‘ए मेरो हजुर’ शृंखलाको पहिलो फिल्म स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेका थिए भने दोस्रो शृंखलादेखि झरना थापाले निर्देशन गर्दै आएकी छन्। नयाँ श्रृंखलाले पनि नेपालीपन, प्रेम र पारिवारिक भावनालाई नयाँ शैलीमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।












