विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको ब्रड पिक हिमपहिरोमा निधन
काठमाडौं।विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा आएको हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ। उनको कम्पनीले शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै पुर्जासहित टोलीका सदस्यहरूको निधन भएको जानकारी दिएको हो।
गत बिहीबार बिहान ९:२० बजे ब्रड पिकमा आएको शक्तिशाली हिमपहिरोमा परी १० पर्वतारोही सम्पर्कविहीन भएका थिए। कम्पनीका अनुसार दुर्घटनामा निम्सदाइसँगै उनका विश्वासपात्र आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पालगायत अन्य सदस्यहरूको पनि ज्यान गएको छ।
कम्पनीले जारी गरेको वक्तव्यमा निम्सदाइलाई विश्व पर्वतारोहण क्षेत्रमा साहस, नेतृत्व र समर्पणको प्रतीकका रूपमा स्मरण गर्दै उनको योगदान सधैं प्रेरणादायी रहने उल्लेख गरेको छ। साथै, उनको दूरदृष्टि र नेतृत्वले Elite Exped, Nimsdai Foundation, Skydive Nimsdai र Nimsdai Store लाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको जनाइएको छ।
वक्तव्यमा दिवंगत पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त र साथीभाइप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, यस कठिन घडीमा परिवारको गोपनीयताको सम्मान गर्न सबैमा अनुरोध गरिएको छ।
निर्मल ‘निम्सदाइ’ पुर्जा नेपाली पर्वतारोहण इतिहासका सर्वाधिक चर्चित व्यक्तित्वमध्ये एक थिए। उनले विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू कीर्तिमानी समयमै आरोहण गरेर नेपाललाई विश्व पर्वतारोहण क्षेत्रमा नयाँ उचाइमा पुर्याएका थिए। उनको असामयिक निधनले नेपाल मात्र होइन, विश्व पर्वतारोहण समुदायलाई नै स्तब्ध बनाएको छ।












