बजार अनुगमन : ८ फर्ममाथि कारबाही, एकलाई १ लाख जरिवाना
काठमाडौं।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न व्यवसायिक फर्ममा अनुगमन गरी ८ वटा फर्मलाई कारबाही तथा सुधारका लागि निर्देशन दिएको छ। विभागले सार्वजनिक गरेको विवरणअनुसार ललितपुरको कुपण्डोलस्थित ग्रान्ड ब्वाइज होस्टेललाई उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको भन्दै रु. १ लाख जरिवाना गरिएको छ।
अनुगमनका क्रममा अन्य फर्महरूलाई पनि व्यवसायसँग सम्बन्धित कागजात अद्यावधिक गर्न, मूल्य तथा लेबल स्पष्ट राख्न, बिल अनिवार्य जारी गर्न र सम्बन्धित कानुनी मापदण्ड पालना गर्न निर्देशन दिइएको विभागले जनाएको छ।


विभागका अनुसार सिद्धि विनायक श्री गणेश स्टोर, कान्तिपुर इलेक्ट्रिकल सेन्टर, टेलि डाइरेक्ट प्रा.लि., अञ्जली स्टोर, कालिमाटी सप्लायर्स, व्यञ्जन हाउस प्रा.लि. र क्वालिटी रमेश टायल्स लि. लगायतका फर्मलाई विभिन्न सुधारात्मक निर्देशन दिइएको छ।
विभागले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिँदै नियमविपरीत कारोबार गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही गर्ने जनाएको छ। हालैका दिनमा पनि विभागले बजार अनुगमन तीव्र बनाउँदै विभिन्न फर्ममाथि जरिवाना तथा सुधारका लागि निर्देशन दिँदै आएको छ।















