इन्फा अवार्ड–२०२६ : उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक – Sagarmathapana:: Online News Portal

इन्फा अवार्ड–२०२६ : उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

   २०८३ श्रावण १४ गते  

काठमाडौं।तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा–२०२६) को विभिन्न विधातर्फ उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ।

इन्फा इभेन्ट्स यूके लिमिटेड र इन्फा नेपाल लिमिटेडले साउन ३० गते काठमाडौंको याक एन्ड यति होटलमा आयोजना गर्न लागेको अवार्डका लागि बुधबार उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेको हो।

यस वर्ष प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली चलचित्रमध्येबाट निर्णायक मण्डलले विभिन्न विधाका उत्कृष्ट पाँच मनोनयन छनोट गरेको आयोजकले जनाएको छ। मनोनयनमा ‘ऊनको स्विटर’, ‘जेरीः अन टप’, ‘कोशेढुंगा’, ‘परान’ र ‘आ बाट आमा’ ले अधिकांश प्रमुख विधामा स्थान बनाएका छन्।

उत्कृष्ट निर्देशक विधामा दीपकप्रसाद आचार्य, नवीन चौहान, सरोज पौडेल, सुदिप्ता र सुयोग गुरुङ मनोनयनमा परेका छन्।

त्यस्तै, उत्कृष्ट अभिनेतातर्फ अनमोल केसी, नाजिर हुसेन, नीर शाह, पल शाह र विपिन कार्की तथा उत्कृष्ट अभिनेत्रीतर्फ आना शर्मा, जसिता गुरुङ, मिरुना मगर, रिश्मा गुरुङ र सुरक्षा पन्त मनोनयनमा परेका छन्।

अवार्डको अन्तिम निर्णय स्वतन्त्र निर्णायक मण्डलले गर्ने आयोजक इन्फा इभेन्ट्स यूके लिमिटेडका अध्यक्ष उमेशराज मोक्तान र इन्फा नेपाल लिमिटेडका अध्यक्ष सुनिल श्रेष्ठले बताएका छन्। उनीहरूका अनुसार निर्णय प्रक्रियामा आयोजक, प्रायोजक वा अन्य कुनै पक्षको हस्तक्षेप हुने छैन।

निर्णायक मण्डलमा वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी र वरिष्ठ सम्पादक एवं गीतकार करुण थापा रहेका छन्।

इन्फा अवार्डको तेस्रो संस्करण पहिलोपटक नेपालमा आयोजना हुन लागेको हो। यसअघि पहिलो र दोस्रो संस्करण बेलायतमा सम्पन्न भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै