ब्रड पिक हिमपहिरो : सम्पर्कविहीन आरोहीको खोजीमा सरकार सक्रिय,मन्त्री पौडेलद्वारा चिन्ता व्यक्त
काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ब्रड पिक क्षेत्रमा हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपालीमूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ नेतृत्वको टोलीको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत मन्त्री पौडेलले घटनाले आफूलाई निकै दुःखी बनाएको उल्लेख गर्दै खोज तथा उद्धार अभियानमा संलग्न पाकिस्तानी निकायसँग नेपाल सरकारले निरन्तर समन्वय र सम्पर्कमा रहेको जानकारी दिएका छन्।
उनका अनुसार हिमपहिरोपछि निर्मल पुर्जासहित अन्य नेपाली आरोहीसँग सम्पर्क हुन नसकेको घटनालाई सरकारले गम्भीर रूपमा लिएको छ। घटनाको पछिल्लो अवस्थाबारे नियमित रूपमा जानकारी लिइरहेको र आवश्यक समन्वय भइरहेको पनि उनले बताएका छन्।
मन्त्री पौडेलले सम्पर्कविहीन आरोहीहरू र उनीहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै सम्पूर्ण टोली सकुशल उद्धार भई सुरक्षित रूपमा फर्किने विश्वास व्यक्त गरेका छन्।
पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा बिहीबार हिमपहिरो गएपछि निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको हो। घटनापछि खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ।












