ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जा नेतृत्वको अन्तर्राष्ट्रिय टोली सम्पर्कविहीन, उद्धार तयारी – Sagarmathapana:: Online News Portal

ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जा नेतृत्वको अन्तर्राष्ट्रिय टोली सम्पर्कविहीन, उद्धार तयारी

   २०८३ श्रावण १५ गते  

काठमाडौं।पाकिस्तानको कराकोरम पर्वत शृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा आएको हिमपहिरोपछि विश्वप्रसिद्ध नेपाली मूलका पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको आशंका गरिएको छ।

बीबीसीका अनुसार बिहीबार मध्याह्नतिर ब्रड पिक क्षेत्रमा ठूलो हिमपहिरो गएको थियो। त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन्।

टोलीमा अमेरिका, चीन, ओमान तथा नेपालसहित विभिन्न देशका आरोही सहभागी रहेका छन्। निर्मल पुर्जाले उक्त अन्तर्राष्ट्रिय टोलीको नेतृत्व गरिरहेका थिए।

अल्पाइन क्लब अफ पाकिस्तानका उपाध्यक्ष करार हैदरीका अनुसार मौसम अनुकूल भए शुक्रबार बिहान हेलिकोप्टरमार्फत उद्धार अभियान सञ्चालन गरिने तयारी गरिएको छ। उद्धारका लागि सरकारी निकायहरूसँग समन्वय गरी उपलब्ध सबै स्रोत परिचालन गर्ने प्रयास भइरहेको उनले बताएका छन्।

विश्वको १२औँ अग्लो हिमाल मानिने ब्रड पिक कठिन तथा जोखिमपूर्ण आरोहण गन्तव्यका रूपमा परिचित छ। प्रतिकूल मौसम र जटिल भौगोलिक अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण हुने अनुमान गरिएको छ।

निर्मल पुर्जा सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने पर्वतारोही हुन्। उनी पूर्व बेलायती रोयल मरीनसमेत हुन् र साहसिक हिमाल आरोहणका लागि विश्वभर परिचित छन्।

हालसम्म टोलीको अवस्थाबारे आधिकारिक पुष्टि भएको छैन। पाकिस्तानी अधिकारीहरूले उद्धार प्रयास जारी रहेको जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै