११ र १२ गते मौसम बदली भई भारी वर्षाका हुने सूचना जारी
काठमाडौँ : आजदेखि मौसम बदली भई भारी वर्षाका हुने र त्यसबाट देशका ५६ जिल्ला उच्च जोखिममा रहेको सूचना जारी भएलगत्तै असोज ११ र १२ गते उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा रात्रीकालीन बस नचलाइने भएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक विशेष सूचना जारी गर्दै उक्त जानकारी गराएको हो।
जल तथा मौसम विज्ञान विभागबाट उच्च जोखिम भनेर तोकिएका ५६ जिल्लामा विपद्का घटना बढ्न सक्ने भएकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयअनुसार धान नकाट्न, काटिसकेको भए तत्काल थन्क्याउन पनि प्राधिकरणले अनुरोध गरेको छ। त्यस्तै तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न पनि आग्रह गरिएको छ।
पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन तथा दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान प्राधिकरणले सार्वजनिक अपिल गरेको छ।












