प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न सभामुखको आग्रह, शाहले भने– ‘विचार गर्छु’ – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न सभामुखको आग्रह, शाहले भने– ‘विचार गर्छु’

   २०८३ श्रावण १४ गते  

काठमाडौं।प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई समसामयिक विषयमा संसदमा उपस्थित भएर प्रतिनिधिसभालाई सम्बोधन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्रीसँग भएको भेटमा सभामुखले संसदमा आएर धारणा राख्न अनुरोध गरेको जानकारी दिएका हुन्।

भेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभामुख अर्यालले प्रधानमन्त्री शाहले आफ्नो आग्रहप्रति ‘विचार गर्छु’ भन्ने जवाफ दिएको बताए। यद्यपि, भेटका अन्य विषयबारे भने उनले थप खुलाउन चाहेनन्।

प्रधानमन्त्री शाहले हालसम्म प्रतिनिधिसभालाई औपचारिक रूपमा सम्बोधन गरेका छैनन्। जेठ १७ गते सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले दिएको ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसदको रेकर्डबाट हटाउन तथा प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै आएका छन्।

विपक्षी दलहरूले प्रत्येक बैठकमा प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर स्पष्टीकरण दिनुपर्ने अडान दोहोर्याइरहेका छन्। यसअघि रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले पनि प्रधानमन्त्रीलाई सदनमा ल्याउन पहल गर्ने बताएका थिए भने कांग्रेस प्रमुख सचेतक बासना थापाले सभामुखसँगको छलफलमा प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर जवाफ दिने वातावरण बनाउन आग्रह गरेकी थिइन्।

प्रधानमन्त्री शाह संसदसँग दूरी बढाएको आरोपको समेत सामना गरिरहेका छन्। राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बीचमै बैठक छाडेर हिँडेको, नीति तथा कार्यक्रममाथिको जवाफ स्वयं नदिई अर्थमन्त्रीमार्फत गराएको तथा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा समेत अनुपस्थित रहेको भन्दै उनको आलोचना भइरहेको छ।

हालसम्म बसेका प्रतिनिधिसभाका ४१ बैठकमध्ये प्रधानमन्त्री शाह केवल ६ दिन मात्रै उपस्थित भएका छन्। यसले संसदप्रतिको प्रधानमन्त्रीको उत्तरदायित्व र उपस्थितिमाथि राजनीतिक बहस थप तीव्र बनेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै