पञ्चमी’को औपचारिक घोषणा, सौगात बस्नेतले निर्देशनमा डेब्यु गर्ने – Sagarmathapana:: Online News Portal

पञ्चमी’को औपचारिक घोषणा, सौगात बस्नेतले निर्देशनमा डेब्यु गर्ने

   २०८३ श्रावण १४ गते  

काठमाडौं।मनोवैज्ञानिक मिस्ट्री थ्रिलर चलचित्र ‘पञ्चमी’को औपचारिक घोषणा गरिएको छ। निर्माण टिमले चलचित्रको थिम पोस्टरसमेत सार्वजनिक गरेको छ।

‘पञ्चमी’मार्फत सौगात बस्नेतले निर्देशनमा डेब्यु गर्न लागेका हुन्। उनले यसअघि निर्देशक दीपेन्द्र के. खनाललगायतसँग मुख्य सहायक निर्देशक (चिफ एडी) तथा कार्यकारी निर्माताका रूपमा काम गरिसकेका छन्।

सार्वजनिक थिम पोस्टरमा पुरानो टाइपराइटरमा ‘पञ्चमी’ लेखिएको छ। पोस्टरमा त्रिशूल, दुई नाग, शीर्षकलाई घेरेका पाँच घेरा, नाग अंकित लकेट र शुक्ल पक्षको अर्धचन्द्रलगायत प्रतीक समावेश छन्। निर्देशक बस्नेतका अनुसार यी प्रतीकहरू चलचित्रका पात्र र कथासँग सम्बन्धित छन्। ती प्रतीकको वास्तविक अर्थ भने चलचित्र प्रदर्शनपछि मात्रै खुल्नेछ।

पोस्टरमा ‘I Hate Whoever Comes Late’ भन्ने वाक्यांशसमेत राखिएको छ। यसको सन्दर्भबारे भने निर्माण टिमले केही खुलाएको छैन।

निर्देशक बस्नेतका अनुसार ‘पञ्चमी’ साइकोलोजिकल मिस्ट्री थ्रिलर विधामा निर्माण हुनेछ। चलचित्रका डिजाइन तथा पोस्टरमा प्रयोग गरिएका विभिन्न प्रतीकहरू कथाकै महत्वपूर्ण पक्षसँग जोडिएको उनको भनाइ छ।

‘पञ्चमी’ मौलिक कथामा आधारित नभई एउटा उपन्यासमा आधारित चलचित्र हो। यद्यपि, कुन उपन्यास तथा कुन लेखकको कृतिमा आधारित चलचित्र निर्माण हुन लागेको हो भन्ने जानकारी निर्माण टिमले सार्वजनिक गरेको छैन।

चलचित्रमा अभिनय गर्ने कलाकार, पटकथा लेखक तथा अन्य प्राविधिक टोलीको विवरण पनि हालसम्म सार्वजनिक गरिएको छैन। निर्माण टिमले ती विवरण क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै