पाथीभरामा बढ्यो भक्तजन १८ लाख २६ हजार ५५५ रुपैयाँ संकलन
असोज । प्रसिद्ध धार्मिकस्थल ताप्लेजुङको पाथीभरामा पछिल्ला दुई महिनामा १८ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले मन्दिरमा १८ लाख २६ हजार ५५५ रुपैयाँ संकलन भएको हो। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा रु छ लाख ९१ हजार र भदौमा रु ११ लाख ३५ हजार पाँच सय ५५ भेटी संकलन भएको हो।
समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा पाथीभरा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या एक हजार ९५५ थियो भने भदौमा यो सङ्ख्या बढेर नौ हजार ९३९ पुगेको छ।
दशैँ नजिकिएका कारण आगामी दिनमा भक्तजनको सङ्ख्या अझै बढ्ने जनाइएको छ। पाथीभरा मन्दिरमा दशैँ र तिहारको समयमा विशेष पूजा, अनुष्ठान र धार्मिक कार्यक्रमको आयोजना हुने भएकाले यो समयमा तीर्थयात्रीको उल्लेख्य वृद्धि हुन्छ।

पाथीभरा देवीलाई शक्तिस्वरूपा देवीका रूपमा पुजिन्छ र यो मन्दिरमा विशेषगरी महिला सन्तान प्राप्तिका लागि, रोगव्याधि निको पार्न तथा इच्छित कामना पूरा गर्नका लागि पूजा गर्ने परम्परा छ। यो मन्दिरमा बलि दिनेसमेत प्रचलन छ।












