विराटनगरमा कार्गो रेल सेवा औपचारिक रूपमा सुरु, ढुवानी लागत ३० प्रतिशतसम्म घट्ने – Sagarmathapana:: Online News Portal

विराटनगरमा कार्गो रेल सेवा औपचारिक रूपमा सुरु, ढुवानी लागत ३० प्रतिशतसम्म घट्ने

   २०८३ श्रावण ६ गते  

विराटनगर।भारतबाट विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) सम्म कार्गो रेल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। उद्घाटन भएको करिब तीन वर्षपछि भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको कार्गो रेल विराटनगर आइपुगेपछि मंगलबार दुवै देशका अधिकारीहरूले एक कार्यक्रमबीच सेवाको औपचारिक शुभारम्भ गरेका हुन्।

भारत सरकारअन्तर्गतको कन्टेनर कर्पोरेशन अफ इन्डिया लिमिटेड (कन्कोर) को कार्गो रेलमार्फत सोमबार ४० वटा कन्टेनर बोकेको मालवाहक रेल नेपाल कस्टम यार्ड (एनसीवाई) आइपुगेको थियो।

कार्गो रेलमार्फत सामान ढुवानी गर्दा सडकमार्गको तुलनामा ढुवानी लागत २५ देखि ३० प्रतिशतसम्म घट्ने व्यवसायीहरूले बताएका छन्। कोलकाता बन्दरगाहबाट विराटनगरसम्म सामान करिब २४ घण्टामै आइपुग्ने तथा बाटोमा हुने चोरीलगायतका समस्या समेत कम हुने भएकाले नेपाली उद्योगी व्यवसायीलाई प्रतिस्पर्धामा थप सहज हुने उनीहरूको भनाइ छ।

हाल सडकमार्गबाट १५ टन सामान बोकेको एउटा ट्रक विराटनगरसम्म ल्याउँदा करिब ४० हजार भारतीय रुपैयाँ खर्च हुने गरेकोमा रेलमार्फत सोही परिमाणको सामान ल्याउँदा करिब २९ हजार भारतीय रुपैयाँमै ढुवानी हुने बताइएको छ। यसबाट प्रतिट्रक ११ हजारदेखि १५ हजार भारतीय रुपैयाँसम्म ढुवानी खर्च बचत हुने अनुमान गरिएको छ।

विराटनगर भन्सारबाट आयात हुने कुल सामग्रीमध्ये तेस्रो मुलुकबाट आउने शतप्रतिशत र भारतबाट आउने करिब ६० प्रतिशत सामान रेलमार्फत ढुवानी गर्न सकिए नेपाली व्यवसायीहरूको मासिक ढुवानी खर्च करिब १८ करोड रुपैयाँसम्म घट्न सक्ने उद्योगी व्यवसायीहरूले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै