दुर्गेश थापाले मागे माफी, ‘मास्टर्नी’ गीत युट्युबलगायत सबै आधिकारिक प्लेटफर्मबाट हटाइयो
काठमाडौं।गायक तथा सर्जक दुर्गेश थापाले चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको प्रमोसनल गीतप्रति उत्पन्न विवादपछि सार्वजनिक रूपमा माफी मागेका छन्। साथै उनले उक्त गीत युट्युबलगायत आफ्ना सबै आधिकारिक सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट हटाइएको जानकारी दिएका छन्।
शनिबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत थापाले गीतले कुनै पेशा, व्यक्ति वा समुदायको भावनामा चोट पुर्याउने उद्देश्य नरहेको स्पष्ट पारेका छन्। तर गीतका केही शब्द र प्रस्तुतिका कारण शिक्षक–शिक्षिकासहित दर्शक तथा शुभेच्छुकहरूको भावनामा ठेस पुगेको महसुस गर्दै उनले हृदयदेखि नै क्षमायाचना गरेका छन्।

उनले शिक्षकलाई समाजका मार्गदर्शक, ज्ञानका दीप र सम्मानका पात्र भएको उल्लेख गर्दै प्राप्त सुझावलाई सम्मानस्वरूप ‘मास्टर्नी’ गीत आफ्नै युट्युब च्यानल तथा अन्य आधिकारिक प्लेटफर्मबाट हटाइएको बताएका छन्। साथै आगामी दिनमा अझ जिम्मेवार र उत्कृष्ट सिर्जना लिएर आउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
शिक्षक संगठनहरूले गीतले शिक्षक पेशाको मर्यादामा आँच पुर्याएको भन्दै आपत्ति जनाएपछि विवाद चर्किएको थियो। त्यसपछि निर्माण पक्ष र कलाकारले माफी माग्दै गीत हटाउने निर्णय गरेका हुन्।














