हङकङमा पर्यटनमा उत्साह: ६ महिनामै २ करोड ६७ लाखभन्दा बढी पर्यटक आगमन
काठमाडौं।हङकङले सन् २०२६ को पहिलो ६ महिनामा २ करोड ६७ लाख १० हजार (२६.७१ मिलियन) पर्यटक भित्र्याएको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी भएको हङकङ पर्यटन बोर्डले जनाएको छ।
जुन महिनामा मात्रै ३७ लाख २० हजार पर्यटक हङकङ पुगेका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ७ प्रतिशतले बढी हो। जनवरीदेखि जुनसम्म मुख्यभूमि चीनबाट २ करोड ५ लाख ६० हजार पर्यटक पुगेका छन् भने अन्य मुलुकबाट ६१ लाख ६० हजार पर्यटकले हङकङ भ्रमण गरेका छन्।
पर्यटन बोर्डका अनुसार फ्रान्स, क्यानडा र अष्ट्रेलियालगायतका दीर्घदूरी बजारबाट आउने पर्यटकको संख्या २० प्रतिशतभन्दा बढीले बढेको छ। साथै, वर्षको पहिलो ६ महिनामा १०० भन्दा बढी अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी (MICE) आयोजना हुँदा व्यावसायिक पर्यटनसमेत उल्लेखनीय रूपमा बढेको जनाएको छ।
पर्यटन बोर्डले वर्षको दोस्रो छामाहीमा थप अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनीमार्फत उच्च खर्च गर्ने विदेशी पर्यटक आकर्षित गर्ने लक्ष्य लिएको जनाएको छ।












