पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २१ करोड बिगो दाबी – Sagarmathapana:: Online News Portal

पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २१ करोड बिगो दाबी

   २०८३ श्रावण १ गते  

काठमाडौं।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण प्रकरणमा पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा पूरक आरोपपत्र दायर गरेको छ।

विशेष अदालतले सार्वजनिक गरेको सूचनाअनुसार यसअघि दर्ता भएको दीपक भट्टसम्बन्धी मुद्दामा थप अनुसन्धानपछि ६ जना व्यक्ति र १० वटा कम्पनीलाई प्रतिवादी बनाउँदै पूरक आरोपपत्र दायर गरिएको हो।

विभागका अनुसार प्रतिवादीहरूले गैरकानुनी रूपमा आर्जित सम्पत्तिको वास्तविक स्रोत लुकाउन तथा त्यसलाई वैध देखाउने उद्देश्यले सहयोग पुर्‍याएको आरोप लागेको छ। उनीहरूमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत मतियारको भूमिका खेलेको अभियोग लगाइएको छ।

आरोपपत्रमा विष्णु प्रसाद पौडेलको हकमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गरिएको छ। साथै, एभरेष्ट बैंक लिमिटेडमा रहेको उनको ६ लाख ३४ हजार ५४५ रुपैयाँ ८४ पैसा जफत गर्नसमेत विभागले विशेष अदालतसमक्ष मागदाबी गरेको छ।

यस प्रकरणको थप कानुनी प्रक्रिया अब विशेष अदालतबाट अघि बढ्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै