जेन्जी आन्दोलनमा गोली चलाउनेमाथि कारबाही कहिले हुन्छ ? सरकारसँग सांसद खगेन्द्र सुनारको प्रश्न – Sagarmathapana:: Online News Portal

जेन्जी आन्दोलनमा गोली चलाउनेमाथि कारबाही कहिले हुन्छ ? सरकारसँग सांसद खगेन्द्र सुनारको प्रश्न

   २०८३ असार २६ गते  

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रतिनिधिसभा बैठकमा जेन्जी (Gen Z) आन्दोलनका क्रममा बानेश्वरमा राज्यले चलाएको गोलीबाट युवाहरूको ज्यान गएको घटनाबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। उनले निहत्था युवामाथि गोली चलाउनेहरू अझै खुला रूपमा हिँडिरहेको तर आन्दोलनमा सहभागी युवाहरू जेलमा रहेको भन्दै न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाए।

प्रतिनिधिसभामा बोल्दै सांसद सुनारले आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए। उनले सिंहदरबार र अदालतमा भएको आगजनीमा आन्दोलनकारीहरूको संलग्नता नरहेको दाबी गर्दै भ्रष्टाचारका प्रमाण नष्ट गर्न पुराना शासकहरूले नै ती संरचनामा आगजनी गराएको आरोप लगाए।  

सांसद सुनारले जेन्जी आन्दोलनसँग सम्बन्धित घटनामा सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्। साथै, आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूमाथिको व्यवहार र गोली प्रहारको घटनाबारे निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय दिलाउनुपर्ने माग पनि उनले दोहोर्याए। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै