काठमाडौं महानगरको अत्याधुनिक खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा
काठमाडौं।काठमाडौं महानगरपालिकाले खाद्य गुणस्तर परीक्षणलाई वैज्ञानिक र प्रभावकारी बनाउने उद्देश्यसहित आफ्नै अत्याधुनिक खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्थापना गरिएको प्रयोगशाला महानगरको कृषि तथा पशुपन्छी विभागअन्तर्गत सञ्चालन हुनेछ।
प्रयोगशालामा इसेरिसिया कोलाइ (इकोलाई), साल्मोनेला एसपीपी, स्टाफिलोकोकस ओरियस, टोटल प्लेट काउन्ट, टोटल मोल्ड काउन्ट, फिकल कोलिफर्म लगायत रोगजनक सूक्ष्मजीवहरूको परीक्षण गरिनेछ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रयोगशाला सञ्चालनका लागि मानक सञ्चालन प्रक्रिया (एसओपी) समेत तयार गरिएको महानगरले जनाएको छ।

प्रयोगशालाको उद्घाटन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले अब खाद्य बजार अनुगमन अनुमानका आधारमा नभई वैज्ञानिक परीक्षणका नतिजाका आधारमा गरिने बताइन्। उहाँले वैज्ञानिक प्रमाणकै आधारमा बजार नियमन, नियन्त्रण तथा कानुनी कारबाही अघि बढाइने उल्लेख गर्दै यसले काठमाडौंमा सुरक्षित र स्वच्छ खाद्य प्रणाली स्थापना गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।













