Advance ट्रेकिङ गाइड तालिम सुरु, ४८ जना पेशागत गाइड सहभागी
काठमाडौं।नेपाल पर्यटन बोर्ड (एनटीबी) र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को संयुक्त आयोजनामा चारदिने Advance ट्रेकिङ गाइड तालिम बिहीबारदेखि काठमाडौंको ठमेलस्थित ठमेल पार्क होटलमा सुरु भएको छ।
तालिममा ४२ वटा ट्रेकिङ एजेन्सीका प्रतिनिधित्व गर्दै २ महिलासहित ४८ जना लाइसेन्स प्राप्त पेशागत ट्रेकिङ गाइड सहभागी छन्। तालिमको मुख्य उद्देश्य ट्रेकिङ गाइडहरूको ज्ञान, सीप तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्दै सुरक्षित, दिगो र अनुभवमूलक ट्रेकिङ सेवाको प्रवर्द्धन गर्नुका साथै नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा उनीहरूको भूमिका थप प्रभावकारी बनाउनु रहेको आयोजकले जनाएको छ।

उद्घाटन समारोहमा टानका अध्यक्ष सागर पाण्डेले नेतृत्व क्षमता, सञ्चार सीप, सुरक्षा व्यवस्थापन तथा अनुभवमूलक ट्रेकिङ सेवामा गुणस्तरीय सुधार ल्याउन यस्ता तालिम प्रभावकारी हुने बताए। टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले प्रशिक्षित ट्रेकिङ गाइडहरू नेपाल पर्यटनका प्रभावकारी प्रवर्द्धक तथा सद्भावना दूत बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको सञ्चालन टानका प्रशिक्षण विभाग संयोजक राजु गुरुङले गरेका थिए भने स्वागत मन्तव्य कार्यसमिति सदस्य अम्बिरबहादुर गुरुङले दिएका थिए।


तालिमको पहिलो दिन रामचन्द्र सेढाईं, राज ग्यावाली र डा. चेतनाथ कँडेलले विभिन्न विषयमा प्रशिक्षण दिएका छन्। आगामी चार दिनसम्म सञ्चालन हुने तालिममा ट्रेकिङ सुरक्षा, नेतृत्व विकास, दिगो पर्यटन, सञ्चार तथा पर्यटक व्यवस्थापनलगायत विषयमा व्यावहारिक र अन्तरक्रियात्मक सत्र सञ्चालन हुने जनाइएको छ।













