अनुसन्धान खेतसम्म पुर्‍याउन वैज्ञानिकलाई कृषिमन्त्री चौधरीको निर्देशन – Sagarmathapana:: Online News Portal

अनुसन्धान खेतसम्म पुर्‍याउन वैज्ञानिकलाई कृषिमन्त्री चौधरीको निर्देशन

   २०८३ असार २५ गते  

काठमाडौं।कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त वरिष्ठ वैज्ञानिक तथा वैज्ञानिकहरूलाई अनुसन्धानलाई प्रयोगशालामा सीमित नराखी किसानको खेतबारीसम्म पुर्‍याउन निर्देशन दिनुभएको छ।

नार्कद्वारा आयोजित नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रम तथा राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) को अनुगमनका क्रममा मन्त्री चौधरीले कृषि अनुसन्धानको प्रत्यक्ष प्रभाव किसानको उत्पादन, उत्पादकत्व र जीवनस्तरमा देखिनुपर्ने बताउनुभयो।

उहाँले नेपालको अर्थतन्त्रको प्रमुख आधार कृषि भएकाले यसको रूपान्तरणका लागि प्रभावकारी अनुसन्धान अपरिहार्य रहेको उल्लेख गर्दै वैज्ञानिकहरूले कार्यालय वा प्रयोगशालामा मात्र सीमित नभई किसानका समस्या पहिचान गरी व्यावहारिक समाधान दिनुपर्नेमा जोड दिनुभयो।

मन्त्री चौधरीले अनुसन्धानको प्रतिफल किसानसम्म नपुगेसम्म त्यसको वास्तविक अर्थ नहुने भन्दै प्रदेश तथा स्थानीय सरकार, विश्वविद्यालय, निजी क्षेत्र र किसानबीचको सहकार्यलाई थप सुदृढ बनाउन आग्रह गर्नुभयो। उहाँले अनुसन्धान केन्द्र र किसानका खेतलाई नै ‘जीवित प्रयोगशाला’का रूपमा उपयोग गर्दै कृषिको आधुनिकीकरण र उत्पादकत्व वृद्धिमा वैज्ञानिकहरूले सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै