गायक यम बराललाई रक्त क्यान्सर, त्रिवि शिक्षण अस्पतालमा उपचाररत
काठमाडौं।चर्चित नेपाली गायक यम बराल रक्त क्यान्सरबाट पीडित भएको पुष्टि भएको छ। उनी हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन्।
करिब एक महिनादेखि विभिन्न परीक्षण र उपचारपछि चिकित्सकहरूले बरालमा रक्त क्यान्सरअन्तर्गत पर्ने ‘मल्टिपल माइलोमा’ रोग देखिएको बताएका छन्। यो रोग हड्डीको मज्जामा रहेका प्लाज्मा कोषहरू असामान्य रूपमा बढ्दा हुने क्यान्सर हो, जसले सामान्य रक्त निर्माण प्रक्रियामा असर पुर्याउँछ।

स्वस्थ प्लाज्मा कोषहरूले शरीरलाई संक्रमणबाट जोगाउने एन्टिबडी उत्पादन गर्ने भए पनि मल्टिपल माइलोमामा असामान्य कोषहरूको वृद्धि हुँदा प्रतिरोधात्मक क्षमता कमजोर बन्ने, मिर्गौलामा असर पर्ने तथा रक्तअल्पता (एनिमिया) जस्ता समस्या देखिन सक्छन्।
चिकित्सकका अनुसार यस रोगका प्रमुख लक्षणमा हड्डी तथा मेरुदण्डमा तीव्र दुखाइ, अत्यधिक थकान, तौल घट्नु, भोक नलाग्नु, वाकवाकी, कब्जियत, खुट्टा सुन्निनु, बारम्बार संक्रमण हुनु तथा अत्यधिक तिर्खा लाग्नु पर्दछन्।

रक्त तथा पिसाब परीक्षण, हड्डी मज्जा परीक्षण र एक्स–रे, एमआरआई तथा सीटी स्क्यानजस्ता इमेजिङ परीक्षणमार्फत रोगको पुष्टि गरिन्छ। रोगको अवस्था अनुसार उपचार तय गरिने चिकित्सकहरूको भनाइ छ।
मल्टिपल माइलोमाको उपचारमा लक्षित औषधि, केमोथेरापी, आवश्यक परे स्टेम सेल प्रत्यारोपण तथा नियमित स्वास्थ्य निगरानी अपनाइन्छ। बोर्टेजोमिब र कार्फिलजोमिबजस्ता लक्षित औषधिहरू यस रोगको उपचारमा प्रयोग गरिने प्रमुख औषधिमध्येका हुन्।
यम बरालको स्वास्थ्य अवस्थाबारे थप विवरण अस्पतालले सार्वजनिक गरेको छैन भने उनका शुभचिन्तकहरूले शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।












