वर्ल्डलिङ्कको CSR अभियान : समुदायस्तरमै सुरक्षित इन्टरनेट सचेतना विस्तार
काठमाडौं।नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत सुरक्षित इन्टरनेट प्रयोग तथा साइबर जोखिम न्यूनीकरणसम्बन्धी सचेतना अभियानलाई विद्यालयबाट समुदायस्तरसम्म विस्तार गरेको छ।
कम्पनीले सञ्चालन गर्दै आएको ‘वर्ल्डलिङ्क इन्टरनेट एकेडेमी’ कार्यक्रममार्फत डिजिटल साक्षरता, सुरक्षित इन्टरनेट प्रयोग, साइबर सुरक्षा, अनलाइन ठगी, साइबर बुलिङ, व्यक्तिगत गोपनीयता संरक्षण तथा डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्दै आएको जनाएको छ। गत साउन २०८२ देखि जेठ २०८३ सम्म सञ्चालन गरिएका विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रमबाट काठमाडौं उपत्यकाका विभिन्न समुदायका ३ सय ८२ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

वर्ल्डलिङ्कको सामाजिक उत्तरदायित्व अभियान : समुदायसम्म विस्तारियो सुरक्षित इन्टरनेट सचेतना
कम्पनीका अनुसार डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढेसँगै साइबर अपराध, अनलाइन ठगी, गोपनीयता उल्लंघन र गलत सूचनाजस्ता जोखिम पनि बढ्दै गएकाले विशेषगरी बालबालिका, युवा र समुदायलाई सुरक्षित डिजिटल अभ्यासबारे सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
यसअघि भक्तपुरको चाँगुनारायण नगरपालिकाका १९ विद्यालयका करिब १ हजार ४ सय विद्यार्थी लाई तालिम दिइएको थियो। त्यसबाट प्राप्त सकारात्मक प्रतिक्रिया र समुदायको मागलाई आधार बनाएर कार्यक्रमलाई विद्यालयबाट समुदायस्तरसम्म विस्तार गरिएको कम्पनीले जनाएको छ

चालु आर्थिक वर्षदेखि काठमाडौं महानगरपालिका वडा नं. ९ र १०, टोखा नगरपालिका तथा महिला मानवअधिकार संस्थासँगको सहकार्यमा समुदायस्तरमा १२ वटा तालिम सत्र सञ्चालन गरिएको छ। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ।
कार्यक्रममा प्रयोग गरिएका तालिम सामग्री नेपाल प्रहरीको साइबर ब्युरोबाट अध्ययन तथा अनुमोदन गरिएको जनाइएको छ। यसले कार्यक्रमको विश्वसनीयता र प्रभावकारिता थप सुदृढ बनाएको कम्पनीको विश्वास छ।
सहभागीहरूले तालिमपछि सुरक्षित इन्टरनेट प्रयोग, डिजिटल सुरक्षा तथा अनलाइन ठगीबाट जोगिने उपायबारे उपयोगी जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका छन्। साथै, प्राप्त ज्ञान परिवार र समुदायसम्म पनि पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
वर्ल्डलिङ्कले आगामी वर्षहरूमा पनि डिजिटल समावेशीकरण, डिजिटल साक्षरता र सुरक्षित इन्टरनेट संस्कृतिको विकासका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई थप समुदायमा विस्तार गर्ने योजना रहेको जनाएको छ।












