खानेपानी, ढल र भन्सार सुधारका लागि नेपाल–एडीबीबीच १६५ मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
काठमाडौं।नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच खानेपानी, ढल व्यवस्थापन तथा भन्सार–लजिस्टिक्स सुधारका दुई महत्वपूर्ण परियोजनाका लागि कुल १६५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ।
अर्थ मन्त्रालयमा सम्पन्न कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा नेपालका अर्थसचिव डा. घनश्याम उपाध्याय तथा एडीबीका नेपालस्थित देशीय निर्देशक आर्नो कुश्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।


सम्झौताअनुसार ११५ मिलियन अमेरिकी डलर ‘इन्टिग्रेटेड वाटर सप्लाई एन्ड सिवरेज म्यानेजमेन्ट’ परियोजनामार्फत स्थानीय तहमा खानेपानी तथा ढल व्यवस्थापनको पूर्वाधार विस्तारमा खर्च गरिनेछ। यस्तै ५० मिलियन अमेरिकी डलर ‘सासेक एन्ड लजिस्टिक्स रिफर्म्स प्रोग्राम–सबप्रोग्राम २’ अन्तर्गत बजेटरी सहायताका रूपमा परिचालन गरिने भएको छ, जसबाट भन्सार प्रणालीको आधुनिकीकरण र लजिस्टिक्स सेवा सुधारलाई गति दिइनेछ।
सम्झौतापछि अर्थमन्त्री डा. वाग्लेले नेपालको आर्थिक विकास र पूर्वाधार विस्तारमा एडीबीको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा साझेदारी अझ बलियो बन्ने विश्वास व्यक्त गरे।

एडीबीका अध्यक्ष मासातो कान्डाले नेपालसँगको करिब ६ दशक लामो सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै नेपालको विकास प्राथमिकता र एडीबीका कार्यक्रमबीच घनिष्ठ समन्वय कायम रहने बताए। उनले नेपालको आर्थिक तथा संरचनागत विकासमा एडीबीको सहयोग निरन्तर रहने पनि स्पष्ट पारे।












