सिँचाइ–कृषि एकीकृत अभियानमा सरकार,किसानको खेतदेखि बजारसम्म संयुक्त योजना
काठमाडौं।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधारलाई कृषि उत्पादन, प्राविधिक सेवा र बजारीकरणसँग जोडेर एकीकृत रूपमा कार्यान्वयन गर्ने सहमति गरेका छन्।
मंगलबार ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीबीच भएको भेटवार्तामा किसानको खेतसम्म सिँचाइ सुविधा विस्तारसँगै उन्नत बीउ, मल, आधुनिक प्रविधि, प्राविधिक सेवा र कृषि उपजको बजारीकरणलाई एउटै योजनाअन्तर्गत अघि बढाउने विषयमा छलफल भएको हो।

भेटमा मन्त्री श्रेष्ठले सिँचाइमा गरिएको सरकारी लगानीको पूर्ण प्रतिफल प्राप्त गर्न कृषि उत्पादनदेखि बजार व्यवस्थापनसम्मको सम्पूर्ण प्रणालीलाई एकीकृत रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले मन्त्रालयगत सीमाभन्दा माथि उठेर संयुक्त कार्यक्रम सञ्चालन गर्न प्रस्ताव राख्नुभयो।
कृषि मन्त्री चौधरीले उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा दुवै मन्त्रालयबीच नीति निर्माण, कार्यक्रम छनोट र कार्यान्वयन तहसम्म समन्वयलाई अझ सुदृढ बनाइने बताउनुभयो।

यसअघि मन्त्री श्रेष्ठले पश्चिम नेपालका रानी–जमरा–कुलरिया, सिक्टा, बबई र राजापुर सिँचाइ आयोजनाको स्थलगत अनुगमन गर्दै आयोजना प्रमुख, प्राविधिक र किसानसँग छलफल गर्नुभएको थियो। ती आयोजनामार्फत हजारौँ हेक्टर कृषि जमिनमा वर्षभरि सिँचाइ सुविधा विस्तार हुने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार यी आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि पश्चिम नेपालको कृषि उत्पादन र उत्पादकत्वमा उल्लेखनीय वृद्धि हुने, खाद्य सुरक्षा सुदृढ बन्ने, किसानको आयआर्जन बढ्ने तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। सरकारले सिँचाइ आयोजनालाई पूर्वाधार निर्माणमा मात्र सीमित नराखी कृषि आधुनिकीकरण र ग्रामीण समृद्धिको आधारका रूपमा विकास गर्ने नीति लिएको जनाएको छ।












