कलंकी–नागढुङ्गा सडक व्यवस्थापनबारे उच्चस्तरीय छलफल, मुआब्जा र सडक सुरक्षालाई प्राथमिकता – Sagarmathapana:: Online News Portal

कलंकी–नागढुङ्गा सडक व्यवस्थापनबारे उच्चस्तरीय छलफल, मुआब्जा र सडक सुरक्षालाई प्राथमिकता

   २०८३ असार २० गते  

काठमाडौं।सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालको सहभागितामा कलंकी–नागढुङ्गा सडक खण्डको क्षतिपूर्ति (मुआब्जा), फुटपाथ व्यवस्थापन, सडक सुरक्षा तथा सौन्दर्यकरणका विषयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ।

छलफलमा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, काठमाडौं उपत्यका विकास प्राधिकरण, सडक विभाग, चन्द्रागिरि नगरपालिकाका प्रमुख तथा सम्बन्धित वडाका अध्यक्षहरूको सहभागिता रहेको थियो।


बैठकमा सडक विस्तारबाट प्रभावित क्षेत्रको मुआब्जा वितरण प्रक्रिया, फुटपाथको व्यवस्थित निर्माण तथा अतिक्रमण नियन्त्रण, सवारी तथा पैदल यात्रुको सुरक्षाका उपाय, हरियाली प्रवर्द्धन र सडकको सौन्दर्यकरणका विषयमा विस्तृत छलफल भएको जनाइएको छ। साथै सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्दै कलंकी–नागढुङ्गा सडक खण्डलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यसहित आगामी कार्ययोजना अघि बढाउने विषयमा समेत सहमति भएको बताइएको छ।  

छलफलमा सहभागी निकायहरूले सडक पूर्वाधार सुधारसँगै स्थानीयवासीका समस्याको समयमै समाधान, सार्वजनिक सम्पत्तिको संरक्षण तथा दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित सडक निर्माणमा साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै