सूर्यविनायक–९ बालमैत्री वडा घोषणा, मदरल्याण्ड स्कुलको सक्रिय सहभागिता – Sagarmathapana:: Online News Portal

सूर्यविनायक–९ बालमैत्री वडा घोषणा, मदरल्याण्ड स्कुलको सक्रिय सहभागिता

   २०८३ असार २० गते  

भक्तपुर।सूर्यविनायक नगरपालिका वडा नं. ९ ले बालमैत्री स्थानीय शासनका निर्धारित ५१ वटै सूचक पूरा गर्दै आफूलाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरेको छ।

बिहीबार आयोजित घोषणा कार्यक्रममा नगर प्रमुख बासुदेव थापा प्रमुख अतिथि तथा वडाध्यक्ष भगवान खत्री सभाध्यक्ष रहेका थिए। कार्यक्रममा स्थानीय शैक्षिक संस्था मदरल्याण्ड स्कुलले विद्यार्थीहरूको रचनात्मक तथा सांस्कृतिक प्रस्तुतिमार्फत उल्लेखनीय सहभागिता जनाएको थियो।

विद्यालयका अनुसार वडा नं. ९ भित्र मात्रै मदरल्याण्ड स्कुलका ३५४ भन्दा बढी विद्यार्थी बसोबास गर्ने भएकाले बालमैत्री अभियानमा विद्यालयले अभिभावक र विद्यार्थीलाई सक्रिय रूपमा सहभागी गराउँदै आएको छ।

घोषणा समारोहमा कक्षा १० का समृद्धि थापा र सरू बराइलीले कार्यक्रम सञ्चालन गरेका थिए भने कक्षा ६ का विद्यार्थीहरूले कुमारी नृत्य प्रस्तुत गरेका थिए। कक्षा ५ का जेशिक नेपालले बालमैत्री अभियानबारे मन्तव्य राखेका थिए भने कक्षा ८ की रीया लामिछानेले कविता वाचन गरेकी थिइन्।

यसका साथै विद्यार्थीहरूले अभिभावक सचेतनामूलक नाटक, तेइक्वान्दो प्रदर्शन तथा स्काउटसहितको प्रभातफेरीमार्फत बालअधिकार र बालमैत्री वातावरणको सन्देश दिएका थिए।

कार्यक्रमकै अवसरमा वडा कार्यालयले मदरल्याण्ड स्कुलबाट २०८२ सालको एसईई परीक्षामा ४.०० जीपीए हासिल गरेकी छात्रा रोहिणी शिल्पकारलाई सम्मान गरेको थियो।

विद्यालयले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याएकोमा वडा अध्यक्ष भगवान खत्री, वडा सदस्यहरू, नगरपालिका परिवार तथा अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने विद्यार्थी, शिक्षक र अभिभावकप्रति आभार व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै