गृहमन्त्री गुरूङमाथि स्वतन्त्र छानबिनको माग,कांग्रेसको सरकारलाई दबाब – Sagarmathapana:: Online News Portal

गृहमन्त्री गुरूङमाथि स्वतन्त्र छानबिनको माग,कांग्रेसको सरकारलाई दबाब

   २०८३ बैशाख ८ गते  

काठमाडौं ।नेपाली कांग्रेस ले गृहमन्त्री सुधन गुरूङ माथि लागेका आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ।

पार्टीका प्रवक्ता देवराज चालीसे द्वारा जारी विज्ञप्तिमा गृहमन्त्री पदमै रहँदा अनुसन्धान प्रभावित हुन सक्ने आशंका व्यक्त गरिएको छ। त्यसैले छानबिन प्रक्रिया निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

विज्ञप्तिमा कांग्रेसले “नैतिकता र स्वच्छताको राजनीति संस्थागत गर्ने प्रयास कुनै व्यक्ति वा दल विशेषविरुद्ध नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ केन्द्रित रहेको” उल्लेख गरेको छ। साथै, यस विषयमा ढिलासुस्ती वा ढाकछोप भएमा त्यसले सुशासन र जनविश्वासमा गम्भीर असर पार्ने चेतावनी पनि दिइएको छ।

कांग्रेसका अनुसार गृहमन्त्री गुरूङसँग सम्बन्धित पछिल्लो प्रकरण केवल सार्वजनिक चासोको विषय मात्र नभई राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको संवेदनशील मुद्दा हो। “यस्तो अवस्थामा पदमा रहँदै अनुसन्धानमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका स्वाभाविक हुन्छ,” विज्ञप्तिमा भनिएको छ।

विवादस्पद व्यापारी दीपक भट्ट सँग व्यापारिक साझेदारी देखिएको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरूङ विवादमा तानिएका हुन्। कांग्रेसले उक्त प्रकरणमा तत्काल उच्चस्तरीय छानबिन अघि बढाउन जोड दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै