आइल्यान्ड पिक (६,१६५ मि.) मा सफल आरोहण: नेपाल माउन्टेन एकेडेमीको अनुसन्धान टोली शिखरमा – Sagarmathapana:: Online News Portal

आइल्यान्ड पिक (६,१६५ मि.) मा सफल आरोहण: नेपाल माउन्टेन एकेडेमीको अनुसन्धान टोली शिखरमा

   २०८३ बैशाख ७ गते  

काठमाडौं। Island Peak (६,१६५ मिटर) मा नेपाल माउन्टेन एकेडेमी (NMA) को अनुसन्धानात्मक आरोहण टोलीले सफलतापूर्वक शिखर चुमेको छ। BMS (२०२२–२०२६) र MATS (२०२४–२०२६) का विद्यार्थीहरू सहभागी उक्त टोलीले वैशाख ५ गते (१८ अप्रिल २०२६) बिहान करिब १०:४५ बजे शिखरमा पुगेर सफलता हासिल गरेको हो।

यो अभियान शैक्षिक अनुसन्धान, टोली भावना, अनुशासन र हिमाली साहसिकताको उत्कृष्ट उदाहरणका रूपमा लिइएको छ। दक्ष गाइड, प्रशिक्षक, प्राविधिक र सहयोगी टोलीको साथमा विद्यार्थीहरूले चुनौतीपूर्ण हिमाली वातावरणमा आफ्नो क्षमता प्रमाणित गरेका हुन्।

अभियानमा कार्यकारी निर्देशक तथा फिल्ड सुपरभाइजर रमेश पाण्डेय र फिल्ड म्यानेजर इन्जिनियर भक्तराज जैसीले नेतृत्व गरेका थिए। यद्यपि उनीहरू शिखर नपुगे पनि अभियान व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सहायक संयोजक डोल्मा लामा भने सफलतापूर्वक शिखरमा पुगेकी छन्।

NNMGA/IFMGA प्रमाणित वरिष्ठ गाइड रितेन जाङ्बु शेर्पाको नेतृत्वमा लाक्पा राङ्डु शेर्पा र लुक्मे तामाङले टोलीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्‍याएका थिए। उनीहरूको अनुभव र मार्गदर्शन अभियान सफलताको प्रमुख आधार बनेको थियो।

BMS ७औं सेमेस्टरका अधिकांश विद्यार्थीहरूले सफलतापूर्वक शिखर चुम्दा केहीले स्वास्थ्य तथा अन्य कारणले आरोहण पूरा गर्न सकेनन्। त्यस्तै MATS ३औं सेमेस्टरका विद्यार्थीहरू पनि सक्रिय रूपमा सहभागी भएका थिए, जसमा केहीले सफल आरोहण गरेका छन् भने केहीले बीचमै रोकिएका थिए।

सर्दार न्गावाङ नुरु शेर्पासहित रिता दोर्जी शेर्पा, ग्याल्जे शेर्पा र गोम्बा शेर्पाले प्राविधिक सहयोग र सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान दिएका थिए।

यो सफल अनुसन्धानात्मक आरोहणले नेपाल माउन्टेन एकेडेमीका विद्यार्थीहरूलाई व्यवहारिक सिकाइ, नेतृत्व विकास र हिमाली वातावरणबारे गहिरो अनुभव प्रदान गरेको छ। अभियानसम्बन्धी थप विवरणहरू क्रमशः सार्वजनिक गरिने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै