शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा जोड
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको हो। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ।


भेटका क्रममा बेलायत सरकारबाट शिक्षा क्षेत्रमा हुँदै आएको सहयोगलाई निरन्तरता दिने, शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने तथा नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्न लागेको अटिजम विद्यालयका लागि सहकार्य गर्ने विषयमा विशेष छलफल भएको थियो।
मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्र सुधार, शिक्षक क्षमता विकास र स्रोत व्यवस्थापनका लागि बेलायत सरकारको निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो। उहाँले अटिजम विद्यालय सञ्चालनका लागि आवश्यक जनशक्ति र स्रोत विकासमा सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभयो।


त्यसैगरी, राजदूत फेनले नेपालमा शिक्षा, खेलकुद लगायत विभिन्न क्षेत्रमा विगतदेखि जारी सहकार्यलाई अझ विस्तार गर्न बेलायत सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
भेटमा दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने समझदारी बनेको छ। साथै, शिक्षक क्षमता विकासमा सहकार्य गर्ने तथा नेपालमा ट्रान्सनेशनल शिक्षाको सम्भावनाबारे समेत छलफल भएको बताइएको छ।













