आगामी आव २०८३/८४ का लागि ‘बजेट लेखन समिति’ गठन – Sagarmathapana:: Online News Portal

आगामी आव २०८३/८४ का लागि ‘बजेट लेखन समिति’ गठन

   २०८२ चैत्र २० गते  

काठमाडौं-आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रम तयारीलाई तीव्रता दिँदै अर्थ मन्त्रालयले ‘बजेट लेखन समिति’ गठन गरेको छ। राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा समिति गठन गरिएको हो।

सरकारले संघीय संसद्‍मा अर्थमन्त्रीद्वारा प्रस्तुत गरिने बजेट वक्तव्यको मस्यौदा तयार गर्न तथा बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्न समितिलाई जिम्मेवारी दिएको छ।

समितिलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव प्रदान गर्ने, विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने कार्यादेश पनि दिइएको छ।

यसैगरी, संघीय संसद्का दुवै सदनमा पेश गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने तथा बजेट वक्तव्यको अन्तिम मस्यौदा पेश गर्ने मुख्य जिम्मेवारी समेत समितिकै हुनेछ।

समितिमा अर्थ मन्त्रालयअन्तर्गतका विभिन्न महाशाखाका प्रमुखहरू सदस्यका रूपमा समावेश छन्। सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई तथा वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल रहेका छन्।

समितिले मुलुकको वर्तमान आर्थिक अवस्था र विकासका लक्ष्यहरूलाई समेट्दै आगामी बजेटको समग्र खाका तयार पार्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै