काभा वुमन्स लिग : नेपालले मंगलबार इरानसँग सेमिफाइनल खेल्ने
काठमाडौं । काभा वुमन्स नेसन्स लिग अन्तर्गत नेपालले मंगलबार इरानसँग सेमिफाइनल खेल्ने भएको छ । सोमबार भारतले श्रीलंकालाई सोझो सेटमा पराजित गरेपछि नेपालले सेमिफाइनलमा इरान प्रतिद्वन्द्वी पाएको हो ।
सोमबार नै नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराए पनि शीर्ष स्थानमा रहन सकेन । फाइनल प्रवेशका लागि भारतले श्रीलंकासँग र नेपालले इरानसँग खेल्नेछन् ।
आइतबार लिग चरणमा ३–२ को सेटमा हार ब्यहोरेको नेपालले आफ्नो गल्ती सुधार गर्दै सेमिफाइनलमा इरानलाई जित्ने योजना बनाएको छ । इरानको टिमबारे यसअघि जानकारी नभएकाले आइतबारको खेलमा पराजित भएको प्रशिक्षक जगदिश भट्टले बताए ।
सेमिफाइनलमा इरानसँगको खेलमा अघिल्लो खेलको गल्ती नदोहोर्याउने कप्तान अरुणा शाही बताउँछिन् । ‘उपाधि जित्ने लक्ष्य राखेपछि भोलिको खेलमा हामीलाई गल्ती गर्ने छुट छैन । जसरी पनि जित्ने लक्ष्यमा हुनेछौं’, उनले भनिन् ।
इरानसँगको खेलमा रिसिभ र डिफेन्स कमजोर देखिएकाले सुधार गर्नुपर्ने कप्तान शाही बताउँछिन् । ‘रिसिभ र डिफेन्स राम्रो गर्ने हो भने हामीले इरानलाई हराउन सक्छौं’, उनले भनिन् ।













