मनास्लुमा (rope fixing )डोरी फिक्सिङ टोली सफलतापूर्वक शिखरमा, शरद २०२५ आरोहण सिजन औपचारिक रुपमा खुला – Sagarmathapana:: Online News Portal

मनास्लुमा (rope fixing )डोरी फिक्सिङ टोली सफलतापूर्वक शिखरमा, शरद २०२५ आरोहण सिजन औपचारिक रुपमा खुला

   २०८२ आश्विन ५ गते  

काठमाडौं।विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को आरोहण मार्ग शरद २०२५ सिजनका लागि खुला भएको छ। आज साँझ ७:४० बजे (rope fixing)डोरी फिक्सिङ टोली सफलतापूर्वक शिखरमा पुगेको हो। यससँगै यो शरद ऋतुमा आरोहण गरिने पहिलो ८,००० मिटरभन्दा अग्लो पर्वत बनेको छ।

सफलतापूर्वक शिखरमा पुगेका छ जना शेर्पा गाइडमा सह–नेता छिरिङ भोटे, पासाङ शेर्पा, हिरा भोटे, ताशी ग्याल्जेन शेर्पा, कर्मा शार्की शेर्पा र लाक्पा शेर्पा रहेका छन्।

अभियान सञ्चालक संघ (EOA) का महासचिव ऋषि भण्डारीका अनुसार सफल (rope fixing)डोरी फिक्सिङसँगै मनास्लुको मार्ग आधिकारिक रुपमा खुला भएको हो। यो अभियानलाई नेपाल पर्वतारोहण संघ (NMA) का पहिलो उपाध्यक्ष एवं ख्यातिप्राप्त हिमालारोही मिङमा डेभिड शेर्पाको संयोजनमा, EOA को ब्यानरअन्तर्गत सञ्चालन गरिएको थियो। अभियानमा सेभेन समिट ट्रेक्सले रसद तथा व्यवस्थापन सहयोग गरेको हो।

“यस वर्षदेखि मनास्लुमा (rope fixing)डोरी फिक्सिङ प्रणाली नयाँ ढंगले लागू गरिएको छ,” भण्डारीले भने। “अघिसम्म विभिन्न कम्पनीहरूले निवेदन र बोलपत्र मार्फत प्रतिस्पर्धा गर्थे। तर २०२५ देखि भने सम्पूर्ण जिम्मेवारी EOA ले लिएको छ—(rope fixing)डोरी फिक्सिङ टोली छनोट गर्ने, सामाग्री उपलब्ध गराउने र उनीहरूको पारिश्रमिक व्यवस्थापन गर्ने।”

सेभेन समिट ट्रेक्सले मनास्लु आधार शिविरदेखि माथिल्लो शिविरसम्म आवश्यक खाद्यान्न, पाल र अन्य रसद उपलब्ध गराएको छ। मनास्लु पछि यसै शरदमा अमा डाब्लाम र हिमलुङ हिमालमा पनि EOA ले (rope fixing)डोरी फिक्सिङ गर्ने योजना बनाएको छ। आगामी २०२६ देखि भने सगरमाथा (एभरेष्ट) र ल्होत्सेमा समेत यही प्रणाली लागू गरिनेछ।

पर्यटन विभागका अनुसार भदौ २९ गतेसम्म यस शरदमा मनास्लु आरोहणका लागि ३७१ जना आरोहीलाई अनुमति पत्र जारी गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै