अपी हिमाल आरोहण अभियान सुरु, २१ सदस्यीय टोली सुदूरपश्चिमतर्फ प्रस्थान – Sagarmathapana:: Online News Portal

अपी हिमाल आरोहण अभियान सुरु, २१ सदस्यीय टोली सुदूरपश्चिमतर्फ प्रस्थान

   २०८२ भाद्र १३ गते  

काठमाडौं।सुदूरपश्चिम प्रदेशको पर्वतीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अपी हिमालको पहिलो औपचारिक आरोहण सुरु भएको छ। २१ सदस्यीय आरोहण टोली शुक्रबार राजधानीबाट सुदूरपश्चिमतर्फ प्रस्थान गरेको हो।

नेपाल पर्वतारोहण संघ (एनएमए)द्वारा आयोजित विशेष विदाई कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आरोही टोलीलाई शुभकामना दिँदै बिदाई गरे।


मन्त्री पाण्डेले अपी हिमाल आरोहणलाई सुदूरपश्चिम प्रदेशकै लागि ऐतिहासिक र गर्वको क्षणका रूपमा चित्रण गर्दै यो अभियानले स्थानीय पर्यटन, संस्कृति र अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे। उनले पर्वतारोहण नेपाललाई विश्वमा चिनाउने प्रमुख माध्यम भएको उल्लेख गर्दै शेर्पा तथा गैर-शेर्पा आरोहीहरूको संयुक्त प्रयासबाट पर्वतारोहणमा नयाँ युगको सुरुवात हुने बताए।

नेपाल सरकारले हालै मात्र राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमाल दुई वर्षका लागि शुल्कमुक्त गरेको थियो। सो निर्णयपछि अपी हिमाल आरोहण अभियानलाई प्रत्यक्ष कार्यान्वयनमा ल्याइएको हो।

अपी गाउँपालिकाका स्थानीय युवासहित २१ जनाको सहभागिता रहेको टोलीले अपी हिमाल आरोहण गर्नेछ। जोखिमपूर्ण भए पनि सुरक्षित र व्यवस्थित व्यवस्थापनसहित अघि बढाइएको यो अभियानलाई प्रदेशकै पर्यटन र पर्वतारोहण विकासको नयाँ अवसरका रूपमा हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै