बरुण नदी बचाउ अभियान’सुरु,जलविद्युत आयोजनाविरुद्ध स्थानीय उठे
संखुवासभा।भोटखोला गाउँपालिका–४ मा रहेको धार्मिक तथा सांस्कृतिक महत्वको बरुण नदीमा जलविद्युत आयोजना बन्ने तयारी भएपछि स्थानीयवासी विरोधमा उत्रिएका छन्। उनीहरूले बरुणलाई ‘भर्जिन नदी’का रूपमा जोगाउनुपर्ने भन्दै ‘बरुण नदी बचाउ अभियान’ सुरु गरेका हुन्।


बरुणधाम संरक्षण नागरिक समितिका अध्यक्ष उत्तरमान राईका अनुसार बरुण नदी हिन्दु, किराँत र बौद्ध धर्मालम्बीहरूको साझा आस्थासँग जोडिएको नदी भएकाले यसको अस्तित्वमा खतरा पुर्याउने कुनै पनि विकास गतिविधि स्वीकार्य हुने छैन।


उनले संखुवासभामा अरू थुप्रै नदी तथा खोलाहरूबाट विद्युत उत्पादन गर्न सकिने भन्दै, बरुणलाई लक्षित गरेर ‘जलमाफियाहरू’ अगाडि बढिरहेको आरोप लगाए।
बरुण नदी शिवधारा (याङले) र दुधकुण्ड (होमेछो)को पवित्र पानी मिसिएको धार्मिक नदी भएकाले यसको संरक्षण अब सबैको सामूहिक जिम्मेवारी भएको सरोकारवालाहरूको भनाइ छ।












