राज्यमन्त्री हत्या भएको राति ३ जना मान्छे घरमा आएका थिए
काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको राति उनको घरमा तीन जना मान्छे आएको खुलेको छ ।
चन्द्रनगर गाउँपालिका-१ स्थित आफ्नै घरमा हत्या भएका रायको घरमा राति साढे ९ बजेतिर तीन जनाको समूह आएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले बताए ।
प्रहरी स्रोतकाअनुसार राय राति श्राद्धमा गएर राति साढे ८ बजेतिर आफ्नो घरमा आएका थिए । त्यसको करिब १ घण्टापछि तीन जनाको मान्छेको समूह उनको घरमा आएको खुलेको हो ।
राय र उनको घरमा अर्का एकजना काम गर्ने व्यक्ति राम उदेन राय गरी दुई जना बस्दै आएका थिए । राति साढे ९ बजेतिर आएका तीन जनाले हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भन्दै पूर्वराज्यमन्त्री रायलाई सोधेका थिए ।
जवाफमा ८० वर्षीय पूर्वराज्यमन्त्री रायले मिलाउँला नि भनेर जवाफ दिएको उनकै घरमा काम गर्न बसेका राम उदेनले बताएको प्रहरी स्रोतले बतायो । त्यसपछि आफूले तीन जनालाई पानी समेत खुवाएको राम उदनेले प्रहरी समक्ष बताएका छन् ।
पूर्वराज्यमन्त्री रायकै घरमा सुत्ने बताएपछि राम उदेनलाई अर्कै कोठामा सुत्न पठाइएको उनले बताएका छन् ।
जग्गा विवाद मिलाइदिन भन्दै आएका तीन जना र पूर्वराज्यमन्त्री गरी चारजना गफ गरिरहेको र आफू सुतेको हाल प्रहरी नियन्त्रणमा रहेका राम उदेनले बताएका छन् ।
रायको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको छ । राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।












