मेची भन्सारबाट साउन महिनामा अलैँची निर्यात दोब्बर, चिया निर्यातमा भने गिरावट – Sagarmathapana:: Online News Portal

मेची भन्सारबाट साउन महिनामा अलैँची निर्यात दोब्बर, चिया निर्यातमा भने गिरावट

   २०८२ भाद्र ७ गते  

भद्रपुर।मेची भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा अलैँची निर्यात उल्लेख्य रूपमा बढेको छ। कार्यालयको तथ्यांकअनुसार साउन महिनामा मात्र रु ३२ करोड १७ लाख ६१ हजार बराबरको २१६ दशमलव १५ मेट्रिक टन अलैँची निर्यात भएको छ। यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९९ दशमलव ५० प्रतिशतले वृद्धि भएको हो।

गत आर्थिक वर्ष २०८१/८२ को साउनमा रु १६ करोड १२ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको थियो।

यस्तै, चिया निर्यातमा भने उल्लेख्य गिरावट आएको छ। चालु आवको साउन महिनामा रु ३७ करोड ४८ लाख २४ हजार बराबरको चिया निर्यात भएकोमा यो अघिल्लो वर्षको सोही अवधिमा रु ५१ करोड २२ लाख ७८ हजार बराबरको चिया निर्यात भएको थियो। यस अनुसार चिया निर्यात २६ दशमलव ८० प्रतिशतले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए।

कार्यालयको तथ्यांकअनुसार अन्य प्रमुख वस्तुहरूको निर्यातमा पनि उतार–चढाव देखिएको छ। साउन महिनामा भेनियर सिटको निर्यात ३० दशमलव ४० प्रतिशत, छुर्पी ९२ प्रतिशत, धातुका अन्य अवशेष शतप्रतिशत, काउली, ब्रोकाउली र बन्दाकोपी ८९ प्रतिशतले बढेको छ। तर, प्लाइउड ५४ दशमलव १० प्रतिशत, अदुवा ५७ दशमलव ४० प्रतिशत र अम्रिसो शून्य दशमलव ६० प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा मात्रै मेची भन्सारमार्फत रु तीन अर्ब ६९ करोड ४० लाख २३ हजार बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै