“दुग्ध किसानका हितमा आन्दोलन सुरु गर्ने दुग्ध सहकारी संघको घोषणा”
काठमाडौं।केन्द्रीय दुग्ध सहकारी संघले दुग्ध उत्पादक किसानको हितमा शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।
संघको केन्द्रीय कार्यालय बानेश्वरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अमर कुँवरको अध्यक्षता र महासचिव राम आचार्यको सञ्चालनमा आन्दोलन कार्यक्रम सार्वजनिक गरिएको हो।


संघले किसानको श्रमको मूल्य र सम्मान सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।
मुख्य मागहरूमा दुधको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, संकलन–प्रशोधन–वितरण प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्ने, किसानलाई समयमा भुक्तानी दिने बाध्यकारी व्यवस्था गर्ने, सहकारीमाथिको अत्याधिक कर तथा प्रशासनिक दबाब हटाउने, दुधजन्य पदार्थ आयात नियन्त्रण गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा सरकारसँग वार्तामा संघलाई औपचारिक प्रतिनिधित्वको अधिकार दिनुपर्ने रहेका छन्।
आन्दोलनका कार्यक्रमअन्तर्गत पहिलो चरणमा चेतावनी स्वरूप धर्ना र विरोध प्रदर्शन गर्ने र माग सम्बोधन नभए देशव्यापी आन्दोलन र दुध आपूर्ति अवरोधसम्म गर्ने चेतावनी संघले दिएको छ।
संघले सरकार, सम्बन्धित निकाय र सरोकारवालालाई तत्काल सकारात्मक संवादमा आउन आग्रह समेत गरेको छ।
आन्दोलनका मुख्य मागहरू:
दुग्ध किसानले उत्पादन गरेको दुधको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने।
-
दुध संकलन, प्रशोधन र वितरण प्रक्रियामा पारदर्शिता र उचित भुक्तानी सुनिश्चित गर्नुपर्ने।
-
किसानलाई समयमा भुक्तानी गर्न बाध्यकारी व्यवस्था गर्नुपर्ने।
-
दुग्ध सहकारी संस्थाहरूमाथि भइरहेको अत्याधिक कर र प्रशासनिक दबाब तत्काल हटाउनुपर्ने।
-
दुधजन्य पदार्थ आयात नियन्त्रण गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने।
-
दुग्ध सहकारी संघलाई सरकारसँगको वार्तामा औपचारिक प्रतिनिधित्वको अधिकार दिनुपर्ने।












